सहायक हवल्दार प्रतीक्षा जो छोरीलाई ओछ्यानमै सुताएर बरण्डामा झुण्डिइन्…



काठमाडौं । सुरक्षा निकाय जस्तो देशकै सबैभन्दा बलियो संगठनको सबैभन्दा ठूलो स्थान अर्थात् हेडक्वार्टरमा काम गर्दैगर्दा पनि आत्म दह्रो बनाउन नसक्दा आत्महत्या गर्नुपर्ने दिन आउँदो रहेछ । यस्तै घटना घटेको छ प्रहरी हेटक्वार्टरमा कार्यरत एक सहायक हवल्दार प्रतिक्षा खड्काबाट ।

नेपाल प्रहरीको सहायक हवल्दारमा कार्यरत ३५ वर्षीया प्रतिक्षाले गत असार ५ गते राती घरकै बरन्डामा झुन्डिएर आत्महत्या गरेकी छिन् । राती ११ बजेतिर श्रीमान्को जन्मदिन मनाएर बुवाको घरबाट फर्केर श्रीमान् अर्को कोठामा सुतेपछि छोरीसँगै सुतेकी प्रतिक्षाले नाबालिक छोरी प्रिसियसलाई ओछ्यानमै छाडेर बरण्डामा झुण्डिएर आत्महत्या गरिन् ।

सर्वसाधारणको परिवारको घर–झगडा मिलाउनु पर्ने प्रतिक्षाले श्रीमान् राज खड्कासँगको झगडाकै कारण आत्महत्या गरेको उनका माइती पक्षले जनाएका छन् । श्रीमान्ले मानसिक एवं शारिरीक पीडा दिइरहँदा प्रतिक्षाले श्रीमान् राजबाट मुक्ति मात्रै पाइनन् नाबालिका छोरी प्रिसियसको मातृत्व चुँडिन् ।

घटनास्थलमा कुनै सुसाइड नोट समेत नभेटेको प्रहरी अनुसन्धानमा देखिएको छ । राजले प्रतिक्षालाई पटक–पटक ‘तँ मर्छस् कि छोरीलाई छतबाट फालिदिऔं ?’ जस्ता शब्द भन्ने गरेको भन्दै पीडा दिएपछि उनले आत्महत्या गरेको प्रतिक्षाकी बहिनी लक्ष्मी खत्रीले जनाइन् । उनले श्रीमान्कै पीडा खप्न खसकेर दिदीले आत्महत्या गरेको बताइन् ।

उनको आत्महत्यापछि प्रहरी अनुसन्धानमा रहेका राज अहिले १ लाख धरौटीमा छुटिसकेका छन् ।