दुई आईजीलाई फूली लगाईदिएका पाण्डेको हातमा हत्कडी !



काठमाडौं । समयले मानिलाई कता डोर्याउँछ र कहाँ पुर्याउँछ कसैलाई पत्तो नै हुँदैन । प्रसंग हो, पूर्व गृह सचिव टेकनारायण पाण्डेको । कुनै बेला प्रहरीलाई नै निर्देशन दिने अझ भनौं नेपाल प्रहरीको नेतृत्वकर्ता रहेका सचिव पाण्डे अहिले प्रहरीकै हिरासतमा छन् ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव पाण्डेलाई यतिबेला काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

नेपाल प्रहरीको सबैभन्दा ठूलो पद प्रहरी महानिरीक्षक (आईजीपी) लाई फूली फूली लगाइदिने तत्कालिन गृहसचिव पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

कुनै दिन आइजीपीलाई फूली लगाउने हैसियतमा बसेका व्यक्तिले पदको मर्यादा कायम नराख्दा प्रहरीले नै यतीबेला उनको हातमा हत्डकी लगाएको छ ।

भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । एक वर्ष अघि उनै पाण्डेले नेपाल प्रहरीको आईजीपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा फूली लगाइदिएका थिए ।

उनले साेही दिन सशस्त्र प्रहरी बलका नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याललाई पनि दर्ज्यानीको चिन्ह लगाइदिएका थिए ।

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भण्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो ।