

लहान नगरपालिका जहिले पनि गरिब र मजदुरको पक्षमा छः मेयर चौधरी

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरपालिका जहिले पनि गरिब र मजदुरको पक्षमा रहेको बताएका छन् ।
१३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा दलित जनकल्याण युवा क्लबद्वारा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर चौधरीले लहान नगर क्षेत्रभित्रका दलित र मजदुरको हित नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
उक्त अवसरमा मेयर चौधरीले आफू मेयरमा निर्वाचित भएको दिनदेखि नै गरिबीको रेखामुनि रहेका लहान बासीको हितका लागि काम गर्दै आएको समेत प्रस्ट्याए । उनले आफू मेयर भएपछि गरिबी र मजदुरीकै भरमा जिजन जिउनेका लागि नागरिकता, जन्मतदर्ता, मृत्यु जस्ता स्थानीय तहमा गरिने सिफारिस निःशूल्क गरेको पनि जनाए । त्यसका साथै फुसको छानो भएका घर परिवारका लागि जस्तापाता पनि उपलब्ध गराएको बताए ।
उनले वडा नं. १२ वडामा रहेका मुसहर भएका घर परिवारका लागि बसोबासको व्यवस्था गरेका छन् । उनले २०० भन्दा बढी मुसहर घरपरिवारलाई घर निर्माणमा सहयोग गर्ने पनि बताए । उनले कोरोना समयमा हरेक महिना राहत बाँड्ने, गर्भवती महिलाहरुलाई पोषणका साथै शिक्षाका लागि विशेष योजना बनाएको पनि मेयर चौधरीले जनाए ।
उनले हरेक सरकारी विद्यालयहरुमा दिवा खाजाको पनि व्यवस्था गरेको बताए । साथै उनले खानेपानीका लागि धारा उपलब्ध गराउने पनि बताए । उक्त अवसरमा मेयर चौधरीले मजदुर र गरिब परिवारका केही समस्या भएमा नगरपालिकामा आएर खबर गर्न पनि अनुरोध गरेका छन् ।