

मेयर ससुराको नाममा एसईई दिने इन्जिनियर ज्वाइँ पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु एसईई परीक्षाका परीक्षार्थी हुन् तर उनको सट्टा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई अनुगमन टोलीले पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ ।
पक्राउ परेका उनी पेसाले इन्जिनियर हुनका साथै मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको पुष्टी गरे ।
उनीमाथि परीक्षा नियमावली अनुसार कारवाही हुने एसपी बुढामगरले जानकारी दिए ।