

उपनिर्वाचनका लागि भोली उम्मेदवारी दर्ता

काठमाडाैं । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।