यी ५ मध्ये संगठनको नेतृत्वमा कसले बाजी मार्लान्?



काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवा भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले बढुवा भएका एआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

एआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाएका हुन्।

यही चैत ११ गतेका दिन वर्तमान प्रहरी महानिरीक्षक सिंह अवकाशमा जाने भएपछि यिनै ५ मध्ये एकजनाले संगठनको ३० औं आईजी बन्ने सौभाग्य पाउनेछन् । एआईजी बढुवा हुँदा पहिलो नम्बरमा परेका कुँवरको सम्भावना बलियो रहेको भए पनि अन्य प्रतिस्पर्धीहरु पनि शक्तिकेन्द्र धाईरहेको भन्ने सुनिएकोले जसले पनि बाजी मार्नसक्ने देखिएको छ ।

सरकारले बरियताअनुसार नै कुँवरलाई आईजी बनाउने प्रबल सम्भावना रहेको छ । यदि बरियतामा तलमाथी पार्नु परेको खण्डमा सरकारले नेपाल प्रहरीको इतिहासमा पहिलो महिला प्रहरी महानिरीक्षक नबनाउला भन्न पनि सकिन्न । हुन त प्रधानमन्त्री पुष्पकमल दाहालको मात्र एकल निर्णय नहुने भएकाले भावी आईजीका लागि निकै खिचातानी हुने अनुमान गरिएको छ ।

बढुवा भएकामध्ये पछिल्लो समयमा ज्ञवालीका बारे केही विवाद देखिएकोले उनको सम्भावना कम रहेको आंकलन गर्न सकिन्छ । तर, उनले पनि आफूविरुद्धको विवादलाई किनारा लगाउँदै बाजी नमार्लान् भन्न पनि सकिँदैन ।

आज सत्ता गठबन्धनको बैठक बस्ने जनाइएकोले आईजीका बारेमा पनि छलफल हुने जनाइएको छ । तर, सत्ता गठबन्धनले आईजीका लागि ३० वर्षे सेवा अवधि हटाएको खण्डमा वर्तमान आईजी सिंहले नै संगठनको नेतृत्वलाई निरन्तरता दिनेछन् तर त्यसका लागि समय ज्यादै कम भएकोले नयाँ एआईजीबाटै आईजी हुने सम्भावना प्रबल छ । तर गठबन्धनका दलहरुबाट नेपाल प्रहरीमा ३० वर्षे सेवा हटाउनुपर्छ भन्ने माग आएको खण्डमा सिंहले निरन्तरता नपाउलान् पनि भन्न सकिँदैन ।

मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले यी ५ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गरेको थियो।