मुलुकै ठूलो नगरपालिका हाँक्ने मेयर चौधरीको यस्तो छ समृद्ध लहानको परिकल्पना



नेपाल अधिराज्यकै सबैभन्दा ठूलो नगरपालिकाको नेतृत्व लिएका महेश प्रसाद चौधरी उदाहरणीय मेयर बन्ने तरखरमा छन् । नामबाट भन्दा पनि कामबाट चिनिन चाहने मेयर चौधरीले मुलुककै सबैभन्दा ठूलो नगरपालिकाको नेतृत्व सम्हाल्नुअघि समाजसेवीका रुपमा परिचित थिए ।

समाजसेवालाई राजनीतिमा परिणत गर्दै सरकारको प्रतिनिधि भएर काम गर्न पाउँदा खुशी देखिएका मेयर चौधरीले समृद्ध र सफा लहानको परिकल्पनालाई सार्थक तुल्याउन योजनाबद्ध ढंगले अगाडि बढीरहेका छन् ।

समाजसेवा गर्दा खेरी नै जनताले सुविधा दिने र सेवा गर्ने मौका पाएको महसुस गरेका छन् । उनले घोषणापत्रमै लहानको शिक्षा, स्वास्थ्य र रोजगारलाई अगाडि बढाएका छन् । उनले विकासका पूर्वाधारका योजनालाई पनि अगाडि लग्दै व्यवस्थित, सुन्दर र सफा सहर बनाउने प्रण गरेका छन् ।

नगरभित्रका २४ वडामा बजेट विनियोजन पनि समानुपातिक हिसाबले गरेको मेयर चौधरीले जनाए । उनले प्रत्येक वडाका लागि ५० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएकाले वडाध्यक्षहरूले वडाको विकासलाइ प्राथमिकताका साथ काम गर्ने पनि जनाए । नगरको आफ्नै स्रोत र साधनले यस वर्ष ३५ किलोमिटर सडक बनाएको पनि मेयर चौधरीले जनाए । त्यसका लागि नगरपालिकाकै निर्माण सामाग्रीका साथै ट्रयाक्टर, डोेजरहरू प्रयोग गरिएको जनाए ।

‘एक कक्षा एक शिक्षक’को नीति लिएर आफूले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा शिक्षकको अवधारणा लागू गरी नगर स्वयंसेवा शिक्षकका रुपमा १२५ जनालाई नियुक्ति गरी शिक्षामा जोड दिए । साथै उनले सामुदायिक विद्यालयमा अध्ययनरत दलित वस्तीमा ४० स्थानमा ट्युसनको व्यवस्था गरेको पनि जनाए । सरकारले दिने खाजाभत्ता यसअघि वर्षको अन्तिममा अभिभावकलाई दिने गरेकोमा मेयर चौधरीले विद्यालय आएको दिन विद्यार्थीहरुलाई नै अनिवार्य उपलब्ध गराउने व्यवस्था गरे ।

मेयर चौधरीले स्वास्थ्य क्षेत्रमा गरिएको कामको फेहरिस्त लगाउँदै ग्र्रामीण भेगमा ३ वटा बर्थिङ सेन्टर सञ्चालन गरिएको पनि बताए । उनले हालै आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन पनि हस्तान्तरण गरेको बताए । साथै १७५ किमिसको नमूना परिक्षण हुने गरी डिजिटल ल्याब पनि सञ्चालन आउन लागेको पनि जनाए । ३ वटा बर्थिङ सेन्टरमा एमबीबीएस डाक्टर राख्ने सञ्चालन गर्ने उद्देश्य राखेका छन् ।

आँखा शिविर गर्दै नगरभित्रका हजार स्थानीयलाई आँखा अपरेशन गरेको पनि बताए । त्यस्तै १ हजार गरिब, दलितहरुको स्वास्थ्य बिमा गरिने जनाए । त्यस्तै नगरपालिकाले २५ करोडको लगानीमा नगरस्तरीय १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने पनि उनले जनाए ।

त्यस्तै मेयर चौधरीले कृषीका लागि बजेटमा २ करोड रुपैयाँ छुट्याएको बताए । किसानहरुलाई अनुदान गर्नेका साथै ‘किसान कार्ड’को व्यवस्था गरेको मेयर चौधरीले बताए । आँपको राजधानी मानिएको लहानमा विशेष गरी नगदेबालीको रुपमा मानिएको आँपको भण्डारणका लागि कोल्डस्टोरको पहल गर्दै ग्रेडिङ र प्याकिङका लागि व्यवस्था गर्ने जनाएका छन् ।

त्यस्तै एकल महिलालाई बाख्रा दिएर आयमुलक क्षेत्रमा अभिप्रेरित गरेको जनाएका छन् । त्यस्तै ठूला ठूला उखु कृषकहरुलाई डिप बोरिङका लागि अनुदान समेत दिएको मेयर चौधरीले बताए ।

त्यस्तै शुद्ध खानेपानीका लागि हरेक शुद्ध पानी, सफा पानी खुवाउने उद्देश्यले विभिन्न संंस्थाहरुको सहकार्यमा दैनिक ५ घन्टा पानी वितरण गरिएको उनले खुलाए । उनले निकट भविष्यमा २४ घन्टै शुद्ध खानेपानीको व्यवस्था गर्ने योजना पनि सुनाए । अन्य केही वडाहरुमा खानेपानी ट्यांकीको निर्माण गरिएको पनि उनले जनाए । उनले ५ वर्षभित्र हरेक नगरबासीले शुद्ध खानेपानी खाउन् भन्ने उद्देश्यसहित काम गरेको जनाए ।

त्यस्तै कतिपय विद्यालयहरुमा अपांग मैत्री शौचालय पनि बनाएको उनले जनाए । त्यसका लागि कतिपय संगठनहरुसँग नगरले सहकार्य गरेको पनि बताए ।

‘फोहोरबाट मोहोर’को अभियान सञ्चालन ग्यास उत्पादन गरी गरी १० वटा नगरबस सञ्चालन गर्ने योजना रहेको बताउँदै त्यसका लागि ल्याण्डफिल्ड साइडको निर्धारण गरी छिटै काम सुरु हुने पनि उनले जनाए ।

पर्यटकीयस्थल एवं धार्मिक स्थलको संरक्षणका लागि राजदेवी मन्दिरसम्म जाने सडक पनि पिचको तयारी भइरहेको उनले जनाए । त्यस्तै फुलबारीमा प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँको लागतमा गेट बनाउने पनि मेयर चौधरीले घोषणा गरे । त्यस्तै माणिक दह, पोखरियाको संरक्षण गरी तालको रुपमा निर्माण गर्ने योजना रहेको मेयर चौधरीले जनाए ।

त्यस्तै मेयर चौधरीले १६ करोड रुपैयाँ लगानीमा सपिङ मल निर्माणको काम सुरु भइसकेको पनि उनले जनाए । त्यस्तै तरकारी बिक्रीकेन्द्रको रुपमा एउटा मल सञ्चालन गर्ने तयारी गरिएको छ । त्यस्तै पीपीपी मोडलमा ७२ करोड रुपैयाँको लगानीमा हाटबजार लाग्नेस्थल नयाँबजारमा व्यापारिक सटरका साथै स्टलहरु निर्माण गरिने योजना रहेको पनि उनले जनाए ।

त्यस्तै वर्षाको पानीको निकासका लागि पानी व्यवस्थापनको २ अर्ब रुपैयाँ बजेटमा ड्रेनेजका रुपमा लहान बजारको बिचमा रहेको नहरलाई प्रयोग गरिने उनले जनाए । त्यसका लागि संघीय सरकारको ८५ प्रतिशत र नगरपालिकाको १५ प्रतिशत बजेटमा उक्त योजना निर्माण गरिने उनले जनाए ।

(मेयर चाैधरीसँग गरिएकाे कुराकानीमा आधारित)