कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी, कसले कति ल्याए ? (मतसहित)



काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्रीको पदको मतगणना सम्पन्न भएको छ ।

भर्खरै सम्पन्न मतगणनाअनुसार नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मतगणनाअनुसार कुल खसेको ४६८२ मत मध्ये थापाले ३०२३ प्राप्त गरी विजयी भएका हुन् भने शर्माले १९८४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । गगन थापाले शर्माले भन्दा १०३९ मत बढी ल्याउँदै जित हात पारेका हुन् । त्यस्तै शर्माले डा. महतले भन्दा ४३४ मत बढी ल्याएका छन् ।

सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलमा रहेका थापा र प्रकाशमान सिंहको प्यानलमा रहेका शर्माले दुई छुट्टाछुट्टै प्यानलबाट जित हात पारेका हुन ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनाको समाप्तिसँगै अनौठो संयोग जुटेको छ । सभापतिका एउटा प्यानल विजयी हुँदा एक उपसभापति फरक प्यानलका उम्मेदवारले जित हात पारेका छन् भने महामन्त्रीमा दुवै विजयी सभापति बाहेकको प्यानलले जितेका छन् ।

विजयी सभापति देउवा प्यानलका दुवै उम्मेदवार पराजित भएका छन् । देउवा प्यानलका डा. रामशरण महतले १५५० मत ल्याए भने, कृष्ण सिटौलाको कोटाबाट महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेलले १४०९ मत प्राप्त गरे । त्यस्तै डा. कोइराला प्यानलकै महामन्त्रीका अर्का उम्मेदवार डा. मिनेन्द्र रिजालले भने ८०९ मत पाए । स्मरण रहोस् रिजाल र गगन एउटै प्यानलमा रहेका थिए ।

त्यस्तै सभापतिका उम्मेदवार विमलेन्द्र निधिका प्यानलका डा. राजाराम कार्कीले भने १०७ मत ल्याएका छन् ।

उक्त मत परिणाम निर्वाचन समितिले भने औपचारिक घोषणा गर्न बाँकी छ ।