

सन्ध्याले जितिन्, ‘मिस गुरुङ इन्टरनेशनल’को उपाधि

काठमाडौं । यस वर्षको ‘मिस गुरुङ इन्टरनेशनल–२०२१’को उपाधि इलामकी सन्ध्या गुरुङले जित्न सफल भएकी छन् । संघीय राजधानी काठमाडौंमा सम्पन्न प्रतियोगितामा सन्ध्याले शीर्ष उपाधिसहित नगद एक लाख र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
मृगतृष्णा फेसन हाउसले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअपको ताज गोर्खाकी जोसना गुरुङले जितेकी छन् । उनले नगद ५० हजारसहित ट्रफी तथा सेकेण्ड रनरअप गोर्खाकै प्रसन्न गुरुङले नगद २५ हजार र ट्रफी जितिन् । यसैगरी शुभेच्छा गुरुङले थर्ड रनरअपको ताज जित्न सफल भइन् ।
प्रतियोगिताका निणार्यक मण्डलमा चलचित्र निर्देशक सुवास गुरुङ, गैरआवासीय नेपाली संघ, इगंल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङ, गुरुङ तमु समाज तथा बोधी टिभीका कार्यकारी सल्लाहकार अनिल गुरुङ, पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ, मनाङ्ग ग्रुप तथा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ रहेका थिए ।
तमु हयूल छोंज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङको आतिथ्यतामा आयोजित कार्यक्रममा गुरुङ समुदायको भेषभुषा, संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुती गरिएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले गुरुङ युवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने आयोजक तथा फेशन डिजाईनर तृष्णा गुरुङले जानकारी दिइन् ।
आउदो संस्करणदेखि देश बाहिर रहेका गुरुङ समुदायका युवतीहरुको समेत सहभागिता रहने कार्यक्रम आयोजना गरिने उद्घोष गरिएको छ ।