प्रा.डा. ज्ञवालीलाई एक लाख नगदसहितको राष्ट्रिय सम्मान पुरस्कार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच नौ वटा राष्ट्रिय पुरस्कारहरू वितरण गरिएको छ। नेपाली भाषा, साहित्य, संस्कृति तथा सामाजिक चेतनाका विविध आयाममा उल्लेखनीय योगदान पुर्‍याएका विशिष्ट स्रष्टा महानुभावहरूलाई यस वर्षको राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो।

समारोहमा प्रमुख अतिथिको रूपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुरस्कारहरू प्रदान गरे । उनले सम्मानित स्रष्टाहरूको योगदान राष्ट्रको सांस्कृतिक, बौद्धिक र नैतिक उन्नयनमा अतुलनीय रहेको उल्लेख गर्दै यस्ता सम्मानले सिर्जनशील प्रतिभाको कदर हुने र भावी पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

उक्त समारोहमा प्रदान गरिएका नौ पुरस्कारहरू मध्ये विशेष ध्यानाकर्षण भएको पुरस्कार थियो — आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, जुन यस वर्ष कवि प्रा डा रामप्रसाद ज्ञवालीलाई एक लाख नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

डा. ज्ञवाली विगत तीन दशकदेखि नेपाली भाषा र साहित्यमा सक्रिय रहँदै आएका छन् । पुरस्कृत भएपछि ज्ञवालीले सम्मानले सम्पूर्ण नेपाली साहित्य समाजको सामूहिक उपलब्धिको रूपमा लिनुपर्ने विचार व्यक्त गरे । उनले भने, “यो सम्मान मेरो मात्र होइन, नेपाली भाषाको उन्नयनका लागि समर्पित सम्पूर्ण स्रष्टाहरूको हो ।”

अन्य पुरस्कारहरूमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार प्रदान गरिएको थिए।

कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरू, विभिन्न साहित्यिक संस्था, विश्वविद्यालयका प्रतिनिधि, पत्रकार तथा आमन्त्रित अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।

समारोह साहित्यिक वाचन, सांगीतिक प्रस्तुति र सम्मान समारोहको विविध आयामसहित सम्पन्न भएको थियो।

कार्यक्रम समापन गर्दै मन्त्री पाण्डेले राज्यले सिर्जनशील श्रमको सम्मान गर्नुपर्ने उल्लेख गर्दै निकट भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक र समावेशी बनाइने जानकारी दिए । स्रष्टाहरूका लागि दीर्घकालीन सुविधा र प्रोत्साहन सुनिश्चित गर्ने नीति निर्माणको प्रतिबद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *