साराको डेब्यू फिल्म ‘मोहर’को टिजर सार्वजनिक (भिडियोसहित)



काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । टिजरले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ ।

देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश यसमा छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ । फिल्म यही कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ ।

ओम प्रतीक निर्देशित यो फिल्ममा पल शाह, सारा शर्मा, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाहीलगायतको अभिनय छ । चुम्बनजंग शाहीले फिल्म निर्माण गरेका हुन् । साराले बालिकाको भूमिका निर्वाह गरेकी छिन् ।

टिजरले फिल्मको कथावस्तु, प्रस्तुतीकरण र चरित्र चित्रणबारे संक्षिप्त झलक दिन्छ । अभिनेता शाह यसमा देउकी कुप्रथा रोक्न संघर्ष गरेका पात्रको रोलमा छन् । बेनिशालाई बालिकाको आमाको भूमिकामा देखाइएको छ । मिस पबिको एक झलक यसमा छ ।