वास्तविक विश्वकर्माहरूलाई बिर्सिएको पूजा र भोटेकोशीको लेदोभित्र पुरिएका कर्मवीरहरूको स्मरण !

आज असोज १ गते, देशभर परम्परागत रूपमा विश्वकर्मा पूजा मनाइँदैछ। वैदिक मान्यता अनुसार भगवान् विश्वकर्मालाई ब्रह्माण्डका प्रथम वास्तुकार, प्राविधिक र निर्माणका देवता मानिन्छ। यसै विश्वासका आधारमा आजको दिन कलकारखाना, मेसिन, हातहतियार, औजार तथा सवारी साधनहरूको सरसफाइ गरी पूजाआजा गर्ने चलन चलेको छ।

भनिन्छ पहिले पहिले यसरी औजारहरूको नभएर सिल्पीहरूकै प्रत्यक्ष पुजा गर्ने उनिहरूको सीप र क्षमताको स्मरण गर्ने गरिन्थ्यो। तर समयक्रमसँगै हाम्रो संस्कार र चिन्तनमा एउटा ठूलो विचलन आयो। आज हामी फलामका पाता, गुड्ने गाडी र निर्जीव मेसिनहरूलाई सिँगारेर ढोग्छौँ, तिनको प्रदर्शन गर्छौँ तर तिनै गाडी, मेसिन, सडक, पुल र भव्य पूर्वाधारहरू निर्माण गर्ने हाडछालाका जीवित ‘विश्वकर्मा’ अर्थात् श्रमजीवी, शिल्पकार, इन्जिनियर र प्राविधिकहरूलाई भने सर्वथा उपेक्षा गर्दछौँ।

अहिले यस्तो भैदियो कि आँफ्ना गाडी घोडाहरू प्रदर्शन गर्ने मुख्य दिन नै यहि दिन हो जस्तो भैदियो।

वास्तवमा विश्वकर्मा पूजा केवल धातु र मेसिनको पूजाआजा गर्ने दिन होइन। यो त आफ्नो पसिना, सीप, कला-कौशल र प्राविधिक ज्ञानले सभ्यताको निर्माण गर्ने वास्तविक शिल्पीहरूलाई सम्मान गर्ने महान् पर्व हो। कुनै पनि आधुनिक मेसिन, सडक वा पुल आफैँ बन्दैन त्यसको पछाडि कुनै न कुनै इन्जिनियरको दिमाग, प्राविधिकको कौशल र श्रमिकको हातको जादु हुन्छ। तर विडम्बना, हामीले निर्माणका साधनलाई पूजा गर्‍यौँ, तर निर्माताको अस्तित्व र अमूल्य योगदानलाई भने सधैँ ओझेलमा पारिरह्यौँ।

यस पटक अन्य चाडपर्व जस्तै विश्वकर्मा पूजा पनि विगतका वर्षहरूजस्तो सामान्य र उल्लासमय लागिरहेको छैन। यो दिन आज हाम्रा लागि अझ बढी पीडादायी र भावुक बनेको छ। यसको मुख्य कारण हो गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र लेदो सहितको महाविपत्ति।

यस महाविपत्तिले देशका सयौँ कुशल कर्मवीरहरूलाई एकैपटक सदाका लागि खोसेर लगेको छ। रसुवा र नुवाकोट क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन विभिन्न ठूला तथा साना जलविद्युत् आयोजनाहरूमा अहोरात्र खटिएका कयौँ इन्जिनियर, प्राविधिक, हेभी इक्विपमेन्ट अपरेटर र निर्माणको काममा खटिएका श्रमिकहरू त्यो लेदोभित्र सदाका लागि पुरिए।

यति मात्र होइन, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी जस्ता साना तथा ठूला बजार र गाउँहरूमा सडक खण्डहरू, पुल-पुलेसा र घर-टहराहरू निर्माणमा अहोरात्र खटिने श्रमजीवीहरूका साथै यस क्षेत्रमा विभिन्न पेसा, व्यवसाय, वर्कसप, ग्यारेज, प्राविधिक सेवा र निर्माण सामग्री आपूर्ति प्रबन्धमा संलग्न भई आफ्नो सीप र पसिनाले स्थानीय र देशकै अर्थतन्त्र धानेका व्यवसायी तथा कालिगडहरू पनि अकस्मात् आएको बाढीको लेदोमा विलीन हुन पुगे। कति इन्जिनियर, कति कुशल श्रमिक, कति कालिगड र कति पेसाव्यवसायी युवा जनशक्ति यो चपेटामा परे, त्यसको पूर्ण हिसाब अझै आउन सकेको छैन।र यथार्थ हिसाव आउन पनि कठिन छ।

यस विपत्तिमा ज्यान गुमाएका र हराइरहेका ती कुशल तथा दक्ष व्यावसायिक जनशक्ति उत्पादन गर्नु परिवार, समाज र राष्ट्रकै लागि एउटा ठूलो लगानी, मिहिनेत र उनीहरू स्वयंको अथक कार्यक्षमताको प्रतिफल थियो। ती महान व्यक्तिहरूको भौतिक क्षति त कुनै पनि रूपमा भर्पाई नै हुने भएन त्यस बाहेक पनि यस्ता योग्य जनशक्तिहरूको सीप र कौशलको भर्पाई गर्नु समाज र राष्ट्रकै लागि ठूलो चुनौती बन्ने छ।

यस महाविपत्तिले देशका सयौँ कुशल कर्मवीरहरूलाई एकैपटक सदाका लागि खोसेर लगेको छ। रसुवा र नुवाकोट क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन विभिन्न ठूला तथा साना जलविद्युत् आयोजनाहरूमा अहोरात्र खटिएका कयौँ इन्जिनियर, प्राविधिक, हेभी इक्विपमेन्ट अपरेटर र निर्माणको काममा खटिएका श्रमिकहरू त्यो लेदोभित्र सदाका लागि पुरिए।

हामीले आज सडकमा कुदाउने गाडी, यात्रा गर्ने पुल र बाल्ने बिजुलीका पछाडि तिनै कर्मवीर युवाहरू र शिल्पीहरूको रगत पसिना र मिहिनेत बगेको छ। देश निर्माणका लागि आफ्नो सीप र क्षमता पोख्दै गर्दा भदौ १० को भोटेकोशीको भेलमा समाहित हुन पुगेका ती इन्जिनियर, कालिगड, सवारी चालक, निर्माण व्यवसायी तथा प्राविधिकहरू र यस्तो पीडाका अबस्थामा पनि घर समाज राष्ट्र  र उन्नत संसार निर्माणमा विभिन्न तौर तरिकाबाट खटेका मिहिनेत गयेका ति कर्मवीर ति शिल्पीहरू नै हाम्रा समाज र यो समयको वास्तविक विश्वकर्मा हुन् ।

भोटेकोशी बाढीको चपेटामा परेका ति कर्मवीरहरू अभाव यो समाज र राष्ट्रले लामो समयसम्म महसुस गरिरहनेछ भने देशै भरी रहेर साँच्चो अर्थका विश्वकर्माहरूलाई घर-परिवार समाज र राष्ट्रले सधै मान सम्मान गरि रहनु पर्दछ।

हामी, नदीको कठोर बगर, साँघुरो सुरुङ र विकट भूगोलमा रहेर देश, समाज र परिवारलाई अगाडि बढाउन तथा सडक, पुल, पुलेसा, घर र कार्यालयहरू खडा गर्न खटिएकै बेलामा आफ्नो जीवन अर्पण गर्ने ती जनशक्तिहरूप्रति हामी सधैँ ऋणी छौँ र रहनेछौँ। यो अपूरणीय मानवीय क्षतिलाई जति सम्झे पनि कम नै हुन्छ।

आजको यो शोकाकुल र पीडादायी क्षणमा, सवारी साधन र मेसिनलाई ढोग्दै गर्दा हामीले सोच्नुपर्ने बेला आएको छ यदि तिनलाई चलाउने, बनाउने र निर्माण गर्ने सीपयुक्त मानिस नै रहेनन् भने यी निर्जीव मेसिनहरूको के अर्थ रहन्छ? त्यसैले, आजको विश्वकर्मा पूजाको वास्तविक सार्थकता त्रिशूली करिडोरका आयोजना, सडक, पुल र भौतिक संरचना निर्माण गर्दा तथा पेसा-व्यवसायका क्रममा बाढी महाविपत्तिमा परेर ज्यान गुमाएका एवं बेपत्ता भएका सम्पूर्ण कर्मवीर, शिल्पी, इन्जिनियर र श्रमजीवीहरूप्रति श्रद्धापूर्वक नमन गर्नुमा छ। भोटेकोशीको लेदोमा पुरिएका ती अमर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, वास्तविक विश्वकर्मा भनेका यन्त्र होइनन्, मानिस र तिनको सीप-क्षमता हो भन्ने चेत हामी सबैमा पलाओस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *