प्रधानमन्त्री बालेनले सुरु गरे भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधि छलफल
काठमाडौं –प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग बैठक सुरु भएको हो। छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुखहरू तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा सदस्यहरूको उपस्थिति रहेको छ ।
उक्त अवसरमा बाढीपछि प्रभावित क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको पछिल्लो अवस्थाका बारे छलफल हुने जनाइएको छ ।
त्यस्तै प्रभावित नागरिकहरूसम्म पुगेको राहत र उद्धार कार्यको प्रभावकारिता तथा वर्तमान परिस्थितिका बारेमा स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल हुने भएको छ ।
त्यस्तै आगामी दिनमा तत्काल चाल्नुपर्ने राहतका कदमहरूका साथै दीर्घकालीन पुनरुत्थान र पुनर्निर्माणका योजनाका बारेमा संघीय सरकार र स्थानीय तहबचि कसरी काम गर्ने बारेमा पनि छलफल हुने जनाइएको छ ।
विपद्पछिको संकट समाधानका लागि स्थानीय तह र सङ्घीय सरकारबिच समन्वय गरी द्रुत गतिमा काम अघि बढाउन यो छलफल आयोजना गरिएको हो। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्दै तत्काल आवश्यक सहयोग र राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
