बौंदीकालीका तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित, ३३ वर्षको सेवापछि बिदाइ
नवलपुर । बौदिकालि गाउँपालिकाले संघीयता पछिको पहिलो पटक विशेष कार्यक्रम गरी लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा पुर्याउँदै आएका तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ।
गएको असार १४ गते गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बौदिकालि वडा नं. २, ३ र ४ निवासी मैनाकुमारी श्रेष्ठ ठाडा, तारादेवी सुनार र रिङखुना रकिमलाई नगद रु.१४,०००/-, सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको हो।
उहाँहरूले २०४९ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै निरन्तर ३३ वर्षसम्म गाउँपालिकाका विभिन्न ठाउँमा सेवा पुर्याउँदै आएका थिए । ६० वर्ष उमेर पुगेपछि नियमअनुसार उनीहरूलाई गाउँपालिकाले सम्मानका साथ बिदाइ गरेको हो।
सामाजिक विकास समितिका संयोजक श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बौदिकालि गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले प्रमुख अतिथिका रूपमा सहभागी भई तीनैजना स्वयंसेविकाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रशंसा गरे ।
त्यस्तै वडा नं. ३ का अध्यक्ष तेजबहादुर थापा मगर, वडा नं. ४ का अध्यक्ष मनबहादुर सारु मगर, स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगर, बौदिकालि अस्पतालका प्रमुख डा. अबिरल वाग्ले, जनप्रतिनिधि तथा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाबाट आएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कर्मचारी विर बहादुर विकले गरेका थिए ।
स्थानीयस्तरमा लामो समयदेखि स्वास्थ्य सचेतना र सेवामा समर्पित रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानले आगामी दिनमा समुदायमैत्री स्वास्थ्य सेवा अझ प्रभावकारी हुने जनाइएको छ।

