बर्दिमै सई खड्काले रविको न्यायको लागि भन्दै हस्ताक्षर गरेपछि…
नेपालगञ्ज । सहकारी काण्डमा अदालतको आदेशले पुर्पक्षका लागि जेल पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागी एक ट्राफिक प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन्।
ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले छानबिनका लागि तानेको हो।
रास्वपाले लामिछानेको रिहाइका लागि देश तथा विदेशमा हस्ताक्षरसहित नगद संकलन अभियान चलाइरहेको छ। सोही क्रममा बाँकेमा आयोजना गरिएको कार्यक्रमका क्रममा प्रहरी पोशाकमै खड्काले हस्ताक्षर गरेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी आचारसंहिता उल्लंघन भएको भन्दै उनलाई विभागीय कारवाहीको प्रक्रिया अघि बढाइएको हो।
प्रहरी कर्मचारीलाई कारागारमा रहेका व्यक्तिको पक्षमा सार्वजनिक रुपमा अभियानमा सहभागी हुन नपाइने व्यवस्था छ।
