सोझा चन्द्रबहादुरहरू- भरूवा बन्दुक र अनुभव !



गाँउका एक जना सोझा दाई ५६ वर्षीय चन्द्र बहादुर सिंजाली मगर एकनाले भरूवा बन्दुकसहित प्रकाउ परेछन् । गाँउका भाई साथीलाई सोध्दा सोझा चन्द्र बहादुर खेतीपातीमा सास्ती गराउने दुम्सी तथा बँदेल भगाउन प्राय बन्दुक बोक्ने गर्दथे तर आज कानुनी दायरामा परे।

पक्कै पनि नेपालको कानुन अनुसार चन्द्र बहादुर र उनि जस्तै गाँउघरमा रहेर खेती किसानीमा लाग्नेहरूले बोक्ने गरेका ईजाजत नभएका बन्दुकहरू अवैधानिक हो र उन्ले बन्दुक बोक्नु कानुनको उल्लंघन ।

आम नेपालीहरू बीच मात्र नभएर विदेशीहरूको जिब्रामा पनि  झुन्डिएको एउटा चर्चित गीत छ – एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको, मृगलाई मैले ताकेको होईन मायालाई डाकेको।

म पूर्वी नवलपुरको बिकट गाउँ जहाँ मगर जातिहरूको बाहुल्य बस्ती छ, त्यहीँ जन्मिएँ हुर्किएँ। मेरो बाल्यकाल मात्र नभएर युवा अबस्थाको केहि समय त्यही रमाईलो सिउन गाँउमा मात्र नभएर पाल्पा जिल्लाको बाकामलाङ् जहाँ मगर गाँउको बीचमा हाम्रा पिता पुर्खाहरू बसाई सर्दै आएर घरबार जमाएर बसे अनि हामी बकाली पाण्डे भयौं, त्यहीँ बिताएँ । हामीले सानैदेखि मगर संस्कार संस्कृति भाषा रहन-सहन मात्र नभएर खान-पानलाई पनि आत्मसाथ गर्दै आयौं। पाण्डे परिवार भएपनि मेलापातामा आउनेहरूलाई दिनको लागि घरमै जाँड बनाउने, मगर दाजुभाईले मनाउने औसी पुर्णिमा, नाच्ले, सिमे-भुमे मान्नेदेखि माघे संक्रान्ति जस्ता पर्वहरू पनि मगर शैलीमै मनाउने गर्दथ्यौं। बच्चादेखिको बानी, मेलमिलाप, साथ संगत र रहनसहनले मगर भाषा, संस्कार र संस्कृति हामीलाई कहिले पराई लागेन र आजको दिनमा पनि नजिकका सम्बन्धहरू हेर्ने हो भने मगर दाजु-भाई दिदी-बहिनीहरू सँगै रहिरहेको छ।

ईतिहासका कुरा फरक होलान् तर पनि सरसर्ती गाँउ ठाँउ र बसोबास हर्ने हो भने प्राय: मगर गाँउहरूको बीचमा बाहुन क्षेत्रीको बस्ती रहेको र यी दुबै समुदाय अति नै मिलेर बसेको देखिन्छ । अझ गण्डकीबेशीका कतिपय खोला नालादेखि ठाँउहरूको नाम पनि मगर भाषामा रहेको हुँदा नेपालमा मगरहरूको बसोबास हजारौ बर्ष पुरानो हो भनेर यसै आंकलन गर्न सकिन्छ।

यसरी हजारौ बर्षदेखि बस्दै र आँफ्नो संस्कार र संस्कृति अपनाउँदै आएकाहरूले  प्रचलित कानुनमा लेखियो भन्दैमा सबैखाले प्रचलनलाई सजिलै छोड्न नसकेको पनि देख्न सकिन्छ।

हामी सानो छँदा गाँउका मगर काका, ठुलो बाहरू मेलामा जाँदा होस या गोठालो जाँदा या त चाड पर्वमा बन्दुक बोकेर हिँडने गर्नु हुन्थ्यो। गाँउमा प्रायका घरमा सरकारी अड्डाबाट ईजाजत पाएका देखि नपाएका सम्म एक नाले, दुई नाले बन्दुकहरू एउटा मात्र नभएर कतिका घरमा त तीन चारवटा सम्म पनि  हुने गदर्थे । हाम्रो गाँउमा कतिपय मगर काकाहरू त उडिरहेको चरा पनि भरूवा बन्दुक पड्काएर झार्न सक्छन भनेर चर्चा हुन्थ्यो । एक दुई जना त अझ जीवित पनि हुनुहुन्छ होला।

म आँफैलाई  अहिले पनि सम्झना छ एक-दुई पटक त गाँउका काकाहरूको बन्दुक मागेर पड्काउदा आँफै तर्सिएर पानी-पानी भएको पनि छु।

संसारभरका नियम कानुनहरू मानिसको धर्म संस्कृति संस्कार रहन-सहन र गाँउघरको चलनचल्तीलाई लिपिबद्ध गर्दै ल्याएर कानूनी किताबको ठेली बनाइएको हुँदा गलत प्रयोजनले नगरिने कार्यलाई कडा कानुनी दायरामा ल्याएर दुख दिनुभन्दा सामाजिक न्यायको सिद्दांतअनुरूप मेलमिलाप माफी तथा सामान्य सजाय र जरिवाना तिराएर छोडी दिने र मानिसलाई सुध्रने र आइन्दा त्यस्ता कार्यमा अग्रसर नहुन सरोकारवालाहरूले प्रेरित गर्ने हो भने बौदीकालीका चन्द्र बहादुर सिंजालीमगरहरू जस्तालाई भुलवश हुने कानुनी झण्झटबाट बच्न मौका मिल्ने थियो र यो सबै-सबै पक्षको दायित्व पनि हो।

हाम्रो गाँउमा मात्र नभएर पहिले पहिले प्राय गाँउ घरमा दशैंको शुभ साईत भयो भनेर जानकारी दिन पनि बन्दुक पड्काउने चलन थियो भने बिबाह ब्रतबन्धको साईत र जन्ती निकाल्ने बेला होस् या जन्तीहरू पुग्न लागे भनेर जानकारी दिन बन्दुक पड्काउने गरिन्थ्यो । त्यस चलनको एउटा छुट्टै खाले आनन्द थियो । हामीले नै गुजारेको एउटा समय यस्तो थियो कि गाँउघरमा भरूवा बन्दुक भएको घर या बोकेर हिड्दा अर्कै खाले सम्मान हुने गर्दथ्यो। गाँउ टोलमा त्यसले त यसरी बन्दुक चलाउन सक्छ ।उस्को त यति राम्रो बन्दुक छ भन्नेसम्मको कुरा हुने गर्दथ्यो। त्यसताका बन्दुक पड्काएर क्षति गराउनलाई होईन कि चाड-बाड मेलापर्वमा इज्जत बढाएर गीतमा भनिए जस्तै मायालाई ताक्न (समाजको  ध्यान आँफुतिर खिच्न र पहिचान बनाउन) पनि भरूवा बन्दुक बोक्ने गरिन्थ्यो ।

अझ अलि हुने खाने वर्गको बिबाहमा त दर्जनौं काला बन्दुक बोकेकाहरू अगाडी-पछाडी लर्को लगाएर हिँड्ने गर्नु हुन्थ्यो । तर, एउटा गज्जवको कुरा के थियो भने त्यसरी बोकेको बन्दुकले मानवीय क्षति भने प्रायः हुँदैन थियो। तर केहि व्यक्तिहरू अशिक्षा तत्कालिन समयको चलन, कानूनी सहुलियत र सिकार गरि खाने चलनका कारण चरा चुरूङ्गीदेखि जनावरहरू मार्न भने भरूवा बन्दुकहरू प्रयोग हुने गर्दथ्यो । जुन पछिल्लो चरण कडा सरकारी नियम, धरपकड  गाँउघरमा मान्छेहरूमा भएको ज्ञान आदी ईत्यादी कारणले भरूवा बन्दुक राख्नेदेखि सिकार खेल्नेसम्मका चलनहरू हराए।

अझ पछिल्लो समय त माओवादी युद्ध र त्यसको कारणले त गाँउमा बन्दुक त के वीर गोर्खालीको चिनो भनिने खुकुरी समेत राख्न पनि असहज भयो । अहिले त कसैलाई भरूवा होस् या कटुवा या त अन्य खाले बन्दुक राख्न अनिबार्य सरकारबाट लाइसेन्स लिनु पर्ने कडा नियम भयो। जुन नियम समय र परिस्थिति अनुसार जायज पनि छ।

तर अझै पनि गाँउघरमा कतिपयहरूसंग जान-अन्जानमा यस्ता एकनाले दुई नाले काला भरूवा बन्दुकहरू छन् र जुन सिकारदेखि बँदेल र बाँदरहरू धपाउन प्रयोग गर्ने गरिएको छ।

गाँउका मान्छेहरूको नियत र प्रयोजन खेती किसानी बालीनालीको सुरक्षार्थ र मौलिक र परम्परागत चलन भए पनि नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-६ पोखरीछाप बस्ने ५६ वर्षीय चन्द्र बहादुर सिंजाली मगरहरू जस्ता सोझासिधाहरू प्रहरीद्वारा पक्राउ पर्ने गर्दछन् । जुन पक्राउ कानुन बमोजिम नै हुने गर्दछ । पक्कै पनि कानूनले को सिधासाधा र को बाठो-टाठो भन्ने नछुट्याएर समान कानुनी नजरले हेर्न गर्दछ। तर पनि संसारभरका नियम कानुनहरू मानिसको धर्म संस्कृति संस्कार रहन-सहन र गाँउघरको चलनचल्तीलाई लिपिबद्ध गर्दै ल्याएर कानूनी किताबको ठेली बनाइएको हुँदा गलत प्रयोजनले नगरिने कार्यलाई कडा कानुनी दायरामा ल्याएर दुख दिनुभन्दा सामाजिक न्यायको सिद्दांतअनुरूप मेलमिलाप माफी तथा सामान्य सजाय र जरिवाना तिराएर छोडी दिने र मानिसलाई सुध्रने र आइन्दा त्यस्ता कार्यमा अग्रसर नहुन सरोकारवालाहरूले प्रेरित गर्ने हो भने बौदीकालीका चन्द्र बहादुर सिंजालीमगरहरू जस्तालाई भुलवश हुने कानुनी झण्झटबाट बच्न मौका मिल्ने थियो र यो सबै-सबै पक्षको दायित्व पनि हो।