सशस्त्र आईजी अर्यालको प्रमुख आतिथ्यतामा एसटिएफ तालिम



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रमुख आतिथ्यतामा मंसिर २० गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।

महानिरीक्षक अर्यालले तालिम शिक्षालयमा आयोजित समापन समारोहमा तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरलाई पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम हासिल गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

अर्यालले लामो तथा अत्यन्तै कठिन एसटिएफ तालिम सफलतापूर्वक सम्पन्न गराउन अहम भूमिका निर्वाह गरेका प्रशिक्षकहरुलाई धन्यवाद दिँदै प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिए ।

उनले फौजलाई गतिशिल र लगनशिल बनाउन तालिम अपरिहार्य रहेको चर्चा गर्दै तालिमको दौरानमा सिकेका ज्ञान र बगाएको पसिनाले कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै सुरक्षा चुनौतहरुको सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक समेत प्रदान गरेका थिए ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बल नेपालमा प्राप्त स्रोतसाधनको अधिकतम् प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नुकासाथै भविष्यमा आईपर्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समयसापेक्ष यस्ता तालिम आवश्यक रहेको बताए ।

उक्त अवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले हासिल गरेका तालिम सम्बन्धि विभिन्न गतिविधिहरुको डेमोस्ट्रेशन गरेका थिए ।

करीव १६ हप्ता अवधिको सो तालिममा ३ जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली सेना पश्चिम पृतना हेक्वाका पृतनापति उपरथी दिपक कुमार बाँनिया, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत एवं अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।