प्रहरी जवान नेपाली अब फेरि कहिल्यै पुग्ने भएनन् कार्यालय…



हेटौंडा । बिहीबार ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा बाटोमा लडेका प्रहरी जवान कीर्तिबहादुर नेपाली त्यो लडाईको घाउको त उपचार गरे, तर त्यही उपचार गरेर फर्कँदा भने पुनः कार्यालय पुग्न पाएनन् ।

भैंसे प्रहरी चौकीमा कार्यरत जवान नेपालीले कर्तव्य पालनाकै क्रममा एउटा घटनाबाट बचे पनि अर्को दुर्घटनाबाट भने बच्न सकेनन् । पहिलो दिन ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा लडेर सामान्य घाइते भएका नेपाली त्यही सामान्य चोटको उपचारपछि कार्यालय नजिकै पुग्दा आएको सुख्खा पहिरोमा परि उनी गम्भीर घाइते भए । गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पुनः जिल्ला अस्पताल लगिए पनि उनले अस्पतालमै प्राण त्यागे ।

उनी भैंसे प्रहरी चौकीभन्दा १ किलोमिटर टाढा बुलबुले भन्ने स्थानमा सुख्खा पहिरोसँगै आएको ढुंगाले लागेपछि गम्भीर घाइते भएका थिए।

राति १२ बजे पुनः जिल्ला अस्पताल पुर्‍याइएकोमा आज बिहान १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए।

उनको शव जिल्ला अस्पतालमा राखिएको र परिवारलाई बुझाउने तयारी भइरहेको एसपी रिजालले बताए।