सशस्त्र आईजी अर्यालले गरे सातौ‌ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन, डीएसपी कर्माचार्य भए सर्वोत्कृष्ट



काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सातौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहका बीच साउन २६ गते समापन गरेका छन् ।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित सो कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, ‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ प्रदान गरेका थिए ।

कार्यक्रममा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरुलाई उक्त कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्ने डा.सोहन कुमार कर्ण, डा.नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्र समेत प्रदान गरे ।

May be an image of 4 people, dais and text

उनले यस प्रकारको शैक्षिक र व्यावसायिक शिक्षाले संगठनमा आवद्ध अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै सकारात्मक सोच, उदाहरणीय तथा योग्य कमाण्डर निर्माणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै कार्यक्षेत्र परिचालित हुँदा सांगठनिक लक्ष्य प्राप्तीमा नेतृत्वदायी र प्रेरणादायी भूमिका निर्वाह गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए ।

समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरुलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञान अपरिहार्य रहने उल्लेख गर्दै सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरे ।

May be an image of 8 people and text

१५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक १, सशस्त्र प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जनाको सहभागीता रहेको थियो ।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका कमाण्डेन्ट, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका सहसचिव, नेपाली सैनिक प्रतिष्ठान खरिपाटीका कमाण्डेन्टलगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका निमित्त समादेशकलगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।