‘प्रविधिमा दृष्टिबिहिन व्यक्तिहरुलाई पछाडि नछाडौं’

सन् २०३० को विकास एजेण्डामा ‘कसैलाई पनि पछाडि नछाडौं’ भन्ने विश्व संकल्प आज विकासका सवै सवालहरुमा उत्तिकै उपयुक्त र सान्दर्भिक हुन पुगेको छ । बदलिँदो सूचना प्रविधिको विकास र प्रयोगले विश्वलाई एक साँघुरो दायरामा ल्याएको छ भने यसको उपयोगले सबै मानव जगतलाई एउटै श्रृंखलामा समायोजन गरको छ । यस अघि परिकल्पना समेत नगरिएको व्यक्तिहरुले समेत सूचना प्रविधिको यथेष्ट मात्रामा उपयोग गरिरहेका छन् । सूचना प्रविधिको उपयुक्तता, क्रयशिलता र पहुँचयुक्तताले यसको प्रयोगलाई व्यापक बनाउन सक्दछ जुन दृष्टिबिहिन व्यक्तिहरुका लागि पनि उत्तिकै सान्दर्भिक हुन्छ ।

नेपालमा दृष्टिबिहिन व्यक्तिहरुले सूचना प्रविधिको प्रयोग गरेर पढ्न थालेको दुई दशक भइसक्यो । तर पनि नेपाली भाषामा रहेका पाठहरु उपयुक्त रुपमा उच्चारण गर्ने सफ्टवेयरको अभावमा साना कक्षादेखिका दृष्टिबिहिन बालबालिकाहरुले श्रव्य पुस्तकहरु सहि उच्चारणसहित पढन पाइरहेका छैनन् । विकसित मुलुकबाट शुरु गरिएको पहुँचयुक्त सूचना प्रणालीको बिकास र प्रयोगलाई विकासोन्मुख मुलुकहरुमा पुर्याउन जुन प्रकारको योगदान सम्बद्व व्यक्तिहरुले गरिरहेका छन्, त्यो विभिन्न समुदायको मातृभाषामा प्राप्त गर्न अत्यन्त कठिन र चुनौतिपूर्ण रहेको छ ।

यहाँ सुरेश बजाज, श्याम कृष्ण, डा. वीरेन्द्रराज पाेखरेल र बन्दना घिमिरेको फोटो क्रमबद्ध रूपमा राखिएको छ ।

दृष्टिविहिनहरुले स्पर्श माध्यमबाट ब्रेललिपिमा पुस्तकहरु पढ्ने कुरा धेरैजसोलाई जानकारी भएतापनि कम्प्यूटर वा स्मार्ट फोनको प्रयोग गरि आवाजबाट पुस्तक पढ्ने प्रविधिको बारेमा कमैलाई मात्रै जानकारी भएको पाईन्छ । दृष्टिबिहिनहरुले प्रयोग गर्ने आवाजयुक्त कम्प्यूटरको सफ्टवेयरलाई नन भिजुवल डेस्कटप एक्सेस (एनभिडिए) भनिन्छ जसबाट पाठहरु आवाजयुक्त रुपमा पढ्न सकिन्छ । यसमा अंग्रेजी लगायत विभिन्न भाषाहरुमा ‘टेक्स्ट टु स्पिच’ इन्जिन जडान गरिएको हुन्छ जसबाट ति भाषाहरुमा रहेका यूनिकोड पाठहरु आवाजयुक्त रुपमा पढ्न सकिन्छ ।

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यो हिन्दी भाषाको पाठहरु जस्तै गरि पढ्न सकिन्छ र हिन्दी ‘टेक्स्ट टु स्पिच’ इन्जिन प्रयोग  पढ्न सकिन्छ । तर यसरी नेपाली भाषाका पुस्तकहरु पढ्दा हिन्दी लवज सुनिने भएकाले साना कक्षाका बालबालिकाहरुको प्रयोगको लागि उपयुक्त मानिदैन । यसले बालबालिकाहरुको नेपाली लवजमा दुविधा उत्पन्न गर्दछ ।

नेपाली ‘टेक्स्ट टु स्पिच’ इन्जिन निर्माण गर्ने कार्य नेपालमा स्वर्गीय हिम प्रसाद गौतमले गरेको मानिन्छ । तर गौतमको अल्पायुमै निधन भएका कारणले यसको विकासमा बाधा उत्पन्न हुन पुग्यो र एनभिडिएमा उपयुक्त नेपाली लवजको ‘टेक्स्ट टु स्पिच’ इन्जिन जडान गर्न समस्या आइपर्यो । यसै कुरालाई दृष्टिगत गरि उपयुक्त रुपमा सुनेर पढन सक्ने विधिको विकासका लागि काम गरिरहेको हेयर टु रिड संस्थासँगको सहकार्यमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपालले नेपाली ‘टेक्स्ट टु स्पिच’इन्जिन निर्माण गरि एनभिडिएमा जडान गर्न सहजीकरण गरेको छ ।

हेयर टु रिडका संस्थापक अमेरिका निवासी भारतीय मूलका सुरेश बजाज र श्याम कृष्णको प्राविधिक विषय विज्ञताको सहयोगमा उक्त नेपाली ‘टेक्स्ट टु स्पिच’ इन्जिन निर्माण गरिएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र काठमाडौ महानगरपालिकाको सहजीकरणमा एड्राड नेपालले १३ सय २८ वटा नेपाली भाषाका प्रम्प्ट म्यूजिक नेपालको स्टूडियोमा रेकर्डिङ गराई सो नेपाली ‘टेक्स्ट टु स्पिच’ इन्जिन निर्माण गर्न योगदान गरेको हो । यस कार्यमा बन्दना घिमिरेको आवाजमा रेकर्डिङ् गरिएको छ भने प्रकाश खरेलले अडियो सम्पादन गरेका छन्।

नेपाली ‘टेक्स्ट टु स्पिच’ इन्जिन निर्माण गर्ने कार्य नेपालमा स्वर्गीय हिमप्रसाद गौतमले गरेको मानिन्छ । तर गौतमको अल्पायुमै निधन भएका कारणले यसको विकासमा बाधा उत्पन्न हुन पुग्यो र एनभिडिएमा उपयुक्त नेपाली लवजको ‘टेक्स्ट टु स्पिच’ इन्जिन जडान गर्न समस्या आइपर्यो । यसै कुरालाई दृष्टिगत गरि उपयुक्त रुपमा सुनेर पढन सक्ने विधिको विकासका लागि काम गरिरहेको हेयर टु रिड संस्थासँगको सहकार्यमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपालले नेपाली ‘टेक्स्ट टु स्पिच’इन्जिन निर्माण गरि एनभिडिएमा जडान गर्न सहजीकरण गरेको छ ।

३० वटा भन्दा बढि भारतीय स्थानिय भाषाहरुमा समेत यस्तो टेक्स्ट टू स्पिच इन्जिन निर्माण गरेको हेयर टु रिड संस्थाले नेपाली भाषा प्रयोगकर्ता दृष्टिबिहिन व्यक्तिहरुका लागि यो अत्यन्त महत्वपूर्ण र अत्याधुनिक पहुँचयुक्त सूचना प्रविधिको उपहार प्रदान गरेका छन् । कुनैपनि प्रविधि निर्माण भएपछि यसका प्रयोगकर्ताहरुले दिएको उपयुक्त सुझावहरुवाट सो प्रबिधिलाई अझ बढि परिष्कृत र परिमार्जित गराउँदै जाने नियमित प्रक्रिया हो । यसर्थ एनभिडिएमा ‘नेपाली हेयर टु रिड स्पिच’को रुपमा जडान भएको यस नविनतम प्रविधिलाई नेपाली दृष्टिबिहिन प्रयोगकर्ताहरुले यसमा गरिनुपर्ने सुधार औल्याँई सुझाव दिएर अझ परिस्कृत बनाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रतिवद्वता जाहेर गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि सिआरपिडिको धारा ९मा उल्लेखित पहुँचयुक्त सूचना प्रविधिको प्रयोग शहरी तथा ग्रामिण क्षेत्र सबै तहमा अपाङ्गता भएका व्यक्तिहरुले सहयोग गर्न पाउनुपर्ने कुरा उल्लेख छ ।

यसैगरि सोहि महासन्धिको धारा २४ मा रहेको समावेशी शिक्षाको कार्यान्वयनमा पहुँचयुक्त सूचना प्रविधिको प्रयोग र पहुँचयुक्त पाठय सामाग्रीको निर्माणबाट अपाङ्गता भएका विद्यार्थीहरुले शिक्षा हासिल गर्न पाउनुपर्ने कुरा उल्लेख गरिएको छ । दीगो विकास लक्ष्यको चौथो लक्ष्यले समेत अपाङ्गता भएका विद्यार्थीहरुको गुणस्तरीय शिक्षाको अधिकार प्रत्याभूत गराउन पहुँचयुक्त सूचना प्रविधिको प्रयोग अपरिहार्य भएको छ । हालको विकसित समाजमा सूचना प्रविधिको प्रयोगले जीवनको सबै तह र गतिविधिहरुलाई सहज तुल्याईरहेको छ । यस विकासक्रमले दृष्टिबिहिन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सुनेर प्रविधिको प्रयोग गर्न सक्ने गरि प्रविधिको निर्माण गरिनु अपरिहार्य हुन जान्छ ।

नेपाल सरकारले यस्ता नविनतम सूचना प्रविधिहरुलाई आत्मसाथ गर्दै शिक्षा, रोजगारी र सहभागिताको अवसरवाट बञ्चित हुन पुगेका व्यक्तिहरुलाई विकासको मुल प्रवाहमा ल्याउन सक्नुपर्दछ । यस नेपाली टेक्स्ट टू स्पिच इन्जिनको निर्माणले नेपाल सरकारलाई दृष्टिबिहिन व्यक्तिहरुको सूचना प्रविधिको प्रयोग मार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र वित्तिय कारोबारहरुमा पूर्ण पहुँच प्रदान गर्न उपयुक्त रणनीति लिन मद्दत पुर्याउँछ साथै यो प्रविधिको परिष्कृत स्वरुप निर्माण गर्न हेयर टु रिड जस्तो सूचना प्रविधिमा कार्यरत संस्थाहरुसँग सहकार्य गरि पहुँचयुक्त सूचना प्रविधिको विकास गराउन मार्गप्रशस्त गर्दछ ।

– लेखक पोखरेल पहुँचयुक्त सूचना प्रविधि र अपाङ्गता अधिकारका विषय विज्ञ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *