

भट्टको अध्यक्षतामा नेपाल कर्पोरेट लयर्स एशोसिएशन तदर्थ समिति गठन

काठमाडौं – कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायिहरुको हकहित तथा अधिकार स्थापित गरी कर्पोरेट क्षेत्रमा कार्यरत रहेका कानुन व्यवसायीहरुको पहिचान स्थापित गर्न र पेशागत मर्यादा कायम गरी सो क्षेत्रका कानून ब्यवसायीहरुलाई विशुद्ध राजनैतिक रहित गोलबद्ध गराई तिनिहरुको पेशागत हित गर्ने मुख्य उद्देश्यले स्थापना गर्न लागिएको नेपाल कर्पाेरेट लयर्स एशोसिएशन संस्थाको १५ सदस्यिय तदर्थ समितिको गठन गरिएको छ ।
तदर्थ समितिको अध्यक्षमा अधिवक्ता सम बहादुर भट्ट, उपाध्यक्षमा विमल सापकोटा र भगीरथ दुलाल, सचिवमा रामप्रसाद चापागाईं, सहसचिवमा टेक प्रसाद कट्टेल र मुन्नी श्रेष्ठ, कोषाध्यक्षमा चक्रबहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा विजया शर्मा, चित्र बहादुर कुताल विष्ट, भवानी भट्टराई गैरे, मीना पहाडी, राजकुमार महतो, कुन्दन कुमार झा, इन्दु कार्की लगायतका कानुन व्यवसायीहरु रहेका छन् ।
कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले नेपाल बार एशोसिएशनले संसारमै चलेको च्याम्वर लयर्स प्राक्टिसलाई नजर अन्दाज गरेको र कर्पाेरेट क्षेत्रका वकिलहरुलाई बारको चुनावमा भन्दा अरुबेला जहिले पनि दोश्रो दर्जाको वकिलको रूपमा हेरेर जहिले पनि उपेक्षा गरेकोमा रोष प्रकट गरेका थिए । यो संस्था कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको हक अधिकारको संरक्षण गर्ने र कम्पनी, उद्योग व्यवसाय सँग प्रत्यक्ष सम्बन्ध राख्ने उद्योगी व्यवसायीको र सम्बन्धित निकायको बिचमा पुलको रूपमा कार्य गर्ने गराउने उद्देश्यले स्थापित भएको हो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्यहरु , सर्वोच्च अदालत, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतका बार एकाईका बहालवाल सदस्य सहितका प्रतिनिधि लगायतका कानून व्यवसायीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।