निःसन्तानपनका आयामबारे रोटरीले चलायो बहस



ललितपुर । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको मेटरनल एण्ड चाईल्ड हेल्थ कमिटिले निसन्तपनको आयामबारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार ललितपुरमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले निसन्तानपन भएका नागरिक स्वयं, परिवार, समाज लगायत राज्यको निसन्तानपनलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो औल्याएका छन् ।

प्रथमतः निःसन्तानपनलाई बाँझोपनको रुपमा गरिने शाब्दिक व्याख्या नै गलत रहेको भन्दै भाषिक त्रुटिलाई सच्याउँदै नीतिगत व्यवस्थादेखि उपचार विधि, प्रबिधि, उपचार शुल्क र उपचारमा सर्वसाधारणको पहुँच लगायतका विविध पक्षमा व्यापक बहस एवं सुधार आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।

निःसन्तानलाई अझैपनि सामाजिक रुपमा हेयको भावले गरिने व्यवहार र श्रापका रुपमा गरिने व्याख्याले निसन्तान नागरिकमा भयानक पीडा थप्ने गरेको बताउँदै जर्वजस्त समाजमा कायम भएका यस्ता गलत नजिरलाई चिनुपर्ने समेत उनीहरुको धारणा थियो ।

No description available.

निःसन्तानपनले अझैपनि सामाजिक स्विकार्यता प्राप्त गर्न नसकेको अवस्थामा निःसन्तान दम्पतिदेखि परिवार, समाज, निसन्तान उपचार क्षेत्रमा काम गरिरहेका स्वास्थ्य संस्था  र राज्य सबैको संयुक्त सहकार्यमार्फत न्यूनिकरणको दिशातर्फ अग्रसर हुनुपर्ने उनीहरुले उल्लेख गरेका थिए ।

संघीय सांसद डा तोषिमा कार्कीले निसन्तानपनबारे स्पष्ट कार्यविधिको अभाव रहेको बताईन् । उनले भनिन्, ‘नागरिकको प्रजनन अधिकार सम्बन्धि नीतिगत व्यवस्थालाई हेर्दा निसन्तापनलाई सम्बोधन नै गरिएको भेटिएन ।’ ‘न यसबारे अनुसन्धान भएको छ न वास्तविक तथ्यांक संकलनको काम नै भएको छ, उपचार शुल्क हेर्दा बच्चा जन्माउने अधिकार पनि धनीलाई मात्र छ, जस्तो भएको छ, नीतिगत व्यवस्थादेखि अध्ययन अनुसन्धान र गरिव नागरिकको पनि पुहँचमा निसन्तानपनको उपचारलाई पुरयाउनका लागि आवश्यक पैरवी आजै र यसै क्षणदेखि मेरो प्रतिवद्वता भयो’, सासंद कार्कीले भनिन् ।

वंशानुगत कारणदेखि खानपीन, अधिक चिन्ता, अधिक मद्यपान, धुम्रपान, वातावरणीय अवस्था लगायतका अन्य विविध कारणले निसन्तानपन हुने हुँदा यसलाई आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर कति निसन्तान दम्पतीले लुकाउने गरेको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले  बताए । ‘समस्याको समाधान लुकेर होइन खुलेर परामर्शमा आउन सके हुन सक्छ’, रिजालले भने ।

No description available.

निसन्तानपनबारे पूर्व सचेतना एवं जागरणका कार्यक्रम देखि निसन्तानपनको उपचार सेवालाई स्थानीय तहसम्म विस्तार गर्न सके यसको न्यूनिकरणमा मद्दत पुग्ने रोटरियन डा सुनिति आर्चायले बताईन्।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरी इन्टरनेशनल राज्य तथा अन्य सरोकारवाला निकायसँग मानविय सेवाका हरेक कार्यमा हातेमालो गर्न तयार रहेको बताए ।

निःसन्तानपन कारण र निवारणबारेका सचेतना देखि सम्बन्धित सेवालाई सर्वसाधारण नागरिकको सहज पहुँचमा पुरयाउनका लागि आवश्यक सहकार्यका लागि रोटरी सदैव तयार छ, राजभण्डारीले भने ।

No description available.

कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निरशोभा चित्रकार, विश्व स्वास्थ्य संगठनकी डा पूजा प्रधान, यूनएफपीएका अजय आर्चाय, स्वास्थ्य मन्त्रालय परिवार कल्याण शाखाकी अमृता पहाडी, स्वास्थ्य खवरका प्रधान सम्पादक प्रविण ढकाल लगायतले निसन्तानपनका विविध आयामबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य एमसीएच कमिटिकी चेयर रोटरियन शारदा आचार्य पोखरेलले गरेकी थिईन भने प्यानल बहसको सहजकर्ताका भूमिका रोटरी क्लव अफ जावलाखलेलका पूर्व अध्यक्ष रोटरियन डा. सुवास प्याकुरेलले निभाएका थिए ।

धन्यवाद ज्ञापन एमसीएच कमिटिका सल्लाहकार रोटरियन कौशल दासले गरेका थिए भने कार्यक्रमको सञ्चालन एमसीएच कमिटिकी कोचेयर रोटरियन मीनु हाडाले गरेकी थिईन् ।