

नेपाल लाइफले सुरु गर्यो ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सुरु गरेका हुन् ।
नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । डाइनामिक क्यूआर पेमेन्ट सिस्टम को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी,लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु क्षेत्रमा डाइनामिक क्यूआर पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।
कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।