

गणभित्रै गोली लागेर घाइते सैनिक जवानको मृत्यु, आत्महत्या गरेको प्रहरीको निष्कर्ष

कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।
गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए ।
राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।
उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।