

प्रदेश २ मै निधीको अवस्था ‘पतला’, ६७ कार्यसमितिमा देउवा समूहका ६५ निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व रहेको छ । नौ पदाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ । देउवा समूहबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् ।
निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए । यद्यपि मतगाणना सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन् । त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समुहकै रहेको बताइएको छ ।
त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन् । विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेदवारी दिएकाहरू निर्वाचित भएका छन् । यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ ।