

नगरभित्रका हजार बढी मोतियाविन्दुका बिरामीको निःशुल्क उपचार गराउँछौंः नगरप्रमुख चौधरी

सिराहा – सिराहाको लहान नगरपालिकाले नगरको वडा नं. ८ मा वृहत आँखाशिविर सञ्चालन गरेको छ । नगरका २४ वटै वडाहरुमा आँखा शिविर सञ्चालन भइरहेको जानकारी गराउँदै नगरप्रमुख महेश चौधरीले नगरभित्रका एक हजार भन्दा बढी मोतियाविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गराउने बताए ।
मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘नगरभित्रका कुनै पनि गरिव, विपन्न वा पिछडिएका जनताले आर्थिक समस्याकै अभावका कारण आँखाको उपचारबाट बन्चित हुने अवस्था आउँदैन ।’
नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर सञ्चालन गरिएको पनि मेयर चौधरीले जनाए ।
उक्त अवसरमा शिविरमा आँखा परिक्षणका लागि आएका मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।