जनकपुरधामले लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट



काठमाडौं – उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ।

यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ । विश्वभर फैलिएको कोभिड­ १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको छ । उनले धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फछ्र्योट हुन नसकेको बताए ।

रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिए ।उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उनको भनाइ छ ।