मञ्जुश्रीले सम्पादनमा ‘द म्यान बिहाइन्ड धुलिखेल’ सार्वजनिक

काभ्रे । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गरेको ९४ औँ पुस्तक ‘द म्यान बिहाइन्ड धुलिखेल’ सार्वजनिक गरिएको छ ।

उक्त पुस्तक धुलिखेलका अग्रज समाजसेवी, समुन्नत धुलिखेलका लागि समग्र पूर्वाधारको विकास गराउने स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ताका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठका विषयमा अङ्ग्रेजी भाषामा तयार गरि सार्वजनिक गरेको हो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ र उपप्रमुख विमला शर्मा तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको सहभागितामा सो पुस्तक सार्वजनिक गरेको आयोजकले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर पन्ना थापाले उक्त पुस्तकमाथि समालोचना गरेका थिए । उक्त पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ५४ औँ कृति हो । पुस्तकका सम्पादक हरि मञ्जुश्रीले पुस्तकको परिचय दिएका थिए । यो पुस्तक सार्वजनिक कार्याक्रमको संयोजन किरण श्रेष्ठले गरेका हुन ।

अनुवादकद्वय डा. भास्कर हुमागाई र इ. रोशन अधिकारीलाई होटल हिमालयन होराइजनका तर्फबाट आभारपत्र प्रदान गरिएको थियो । डा. इन्दुल केसी, निर्मला श्रेष्ठ, अमृत अधिकारी र पुण्यवती घलेले अतिथिहरूलाई खादा र ब्याच लगाइदिएर स्वागत गरेका थिए ।

पं. रमेश अधिकारीले स्वस्तिवाचन गरेर सुरु गरेको सो कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, लेखकहरू डा. हेमराज काफ्ले, उद्धवप्रसाद नेपाल, पूर्णबहादुर कर्माचार्य, चूडाप्रसाद चौलागाई, केदारनाथ तिमल्सिना तथा रामप्रसाद अधिकारी, प्रह्लाद प्याकुरेल, सिद्धिबहादुर कर्माचार्य, अम्बिका थापा, प्रकृति प्याकुरेल, सङ्गीता केसी, दीपक तिमल्सिना आदिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *