तेल ट्याङ्करभित्र २१८ किलो गाँजा, २ जना पक्राउ



रौतहट – बारा पथलैयास्थित तेल ट्याङ्करभित्र ठूलो परिमाणमा लागू औषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैया चोक स्थित चेकजाँचको क्रममा ना ४ ख २९७९ नम्बरको तेल ढुवानी गर्ने ट्याङ्करको खाली ट्याङ्कीबाट २१८ किलो गाँजा बरामद गरेको हो ।

पथलैया चोकस्थित मोहमद आलम साहको रामरहिम ग्यारेजमा महोत्तरी बर्दिवास न.पा. वडा न.८ बस्ने वर्ष ३३ का घनश्याम गिरीले काठमाडौँबाट भारतको बरौलीमा तेल लिन ल्याएको ना ४ ख २९७९ न. को खाली ट्याङ्करमा लुकाइ छिपाइ गाँजा लगिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उक्त ट्याङकरको च्याम्बरभित्र रातो प्लाष्टिकमा पोका बनाई राखेको २१८ किलो ग्राम (१९ पोका) गाँजा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन ।

ट्याङ्करका चालक घनश्याम गिरी तथा सह-चालक चितवन खैरहनी न.पा २ बस्ने राजकुमार दवाडीसहित ट्याङकरसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।