

डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै मात्रा खोप लगाइसक्ने भारतको दाबी

नयाँ दिल्ली – भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ । आउँदो जुलाईसम्म खोपको अभाव अन्त्य हुने र डिसेम्बरसम्ममा ६० करोड मानिसलाई लगाइसक्ने स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ ।
भारतको जनसङ्ख्या धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने मन्त्रालयको भनाइ छ । भारतको प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति कम भइ महामारी न्यून हुने विश्वास व्यक्त गरेका छन् ।
भारतमा अहिलेसम्म २० करोड डोज खोप लगाइएको बताइएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ४२ जनाको ज्यान गएको छ ।