अमेरिकामा विमानस्थल नजिकै जहाज र हेलिकोप्टर ठोक्कियो, १८ शव भेटियो



काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । दुर्घटनास्थल नजिकै नदीबाट १८ जनाको शव निकालिएको जनाइएको छ । त्यस्तै चार जनाको उद्धार गरि उपचारका लागि अस्पताल लगिएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।

वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त हेलिकोप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हो र त्यसमा तीन जना थिए ।