बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्डको सजाय

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो ।

न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो ।

उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको थियो । अदालतले तीनै जनालाई कसुरदार मानेको छ ।

यसअघि अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको इजलासले ठहर गरेको थियो ।

गत ५ अगस्ट २०२४ मा बंगलादेशमा भएको विशाल जनप्रदर्शनपछि शेख हसिनाको सरकार ढलेको थियो। सरकारी जागिरमा रहेको आरक्षण प्रणाली ९कोटा सिस्टम० विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले पछि राष्ट्रव्यापी रूप लिएको थियो। प्रदर्शनकारी विद्यार्थीहरूमाथि दमन, यातना र गोली चलाएको आरोप लागेपछि हिंसा भड्किएको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि ७७ वर्षीया हसिना देश छाडेर भारतमा शरण लिन पुगेकी थिइन् । त्यसबेलादेखि हसिना भारतमै छिन्।

बंगलादेशको वर्तमान अन्तरिम सरकारले हसिनाविरुद्ध हत्या, अपहरण र देशद्रोहसहित २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ र उनको राहदानी पनि रद्द गरिएको थियो।

यसैबीच, हसिनाको पार्टी अवामी लिगले आज देशव्यापी बन्दको आह्वान गरेको छ, जसले जनजीवन प्रभावित हुनसक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *