

‘तेञ्जिङ’का लागि नायकको खोजी

विराटनगर – निर्माणको तयारीमा रहेको हलिउड फिचर फिल्म ‘तेञ्जिङ’ मा तेञ्जिङ नोर्गेको भूमिका निभाउने पात्रको खोजी शुरु भएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा दम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्रान्ड प्रोडक्सन’ले विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बायोपिक (जीवनी)मा आधारित फिल्म निर्माण गर्न लागेको हो ।
अस्ट्रेलियन महिला निर्देशक जेनिफर पिडमको निर्देशन रहने यो फिल्म सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’मा आधारित हुनेछ ।
मिडिया रिपोर्टका अनुसार फिल्ममा तेन्जिंगको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अनुभवी हुन आवश्यक छैन ।
नेटफ्लिक्ससँगको सहकार्यमा निर्माण हुने फिल्म नेटफ्लिक्समा नै सार्वजनिक हुनेछ । फिल्ममा तेन्जिङले सगरमाथा चढ्न गरेको सङ्घर्ष, मेहनत र सफलतालाई देखाइनेछ । फिल्मको सम्पूर्ण छायाङ्कन सगरमाथा क्षेत्रमा हुनेछ ।
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।