

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार बढी सवारी नियन्त्रणमा, १ सय ५१ जनालाई जरिवाना

काठमाडौं – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये १ हजार ४४ वटा गाडी र २ हजार १ सय ४१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ५१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । २ हजार ६ सय ९० जनालाई सम्झाइ बुझाइ गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ९ सय ८७ जनालाई सचेत गराईएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।