गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नवलपुरका कृष्णचन्द्र नेपाली !



पोखरा । गण्डकी प्रदेशमा बढ्दै गएको राजनीतिक सरगर्मीसँगै नवलपुरले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ । नेकपाको विवादपछि फुटेका एमाले र माओवादीका कारण नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना बढेसँगै गण्डकी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो ।

नेकपा विभाजनका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेपछि कांग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । कांग्रेस, माओवादी, जसपा र जनमोर्चा एक ठाउँमा उभिएपछि पृथ्बीसुब्बको पद धरापमा परेको हो ।

जनमोर्चाले समर्थन फिर्ता लिएपछि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने पक्कापक्की भएको एक प्रदेश सभा सदस्यले बताए । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्ने पक्का भएको हो ।

कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले आज अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।

कांग्रेससित १५, माओवादीसित १२, जनमोर्चासित ३ र जसपासित २ सांसद गण्डकी प्रदेश सभामा छन् । पृथ्वीसुब्बाको विपक्षमा ३१ सांसद छन् ।