

आईपीएल क्रिकेटमा दुई विशाल टीम भिड्दा बैंगलोर विजयी

चेन्नई – १४ औं इन्डियन प्रिमियर लिग (आईपीएल) का दावेदार मानिएका सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच गएराती चेन्नईको चेपाकमा भएको खेलमा व्याङ्लोर ६ रनले विजयी भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको सामान्य योगफल जोडेको थियो। खेलका म्यान अफ दि म्याच घोषित भएका अष्ट्रेलियायी विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको ५९ रनको साहराले बैंगलोरले सो योगफल तयार पार्न सकेको हो। कप्तान विराट कोहली ले पनि ३३ रनको योगदान गरेका थिए।
हैदरावादको लागि जेसन होल्डर ले ३ र राशिद खानले २ विकेट लिएका थिए। १५० रनको लक्ष्य लिएर उत्रेको सन्राइजर्सले सुरुवात भने राम्रो गरेको थियो। कप्तान डेभिड वार्नर ले ५४ र मनिश पाण्डेले ३८ रन बनाउँदा हैदरावादी टोलीको पकड खेलमा बलियो देखिन्थ्यो। वार्नर र पाण्डे बीच ८३ रनको साझेदारी जमेको थियो।
त्यसपछि लगालग विकेट गुमाएको हैदराबादले अन्तिम ४ ओभरमा ३५ रन बनाउन नसक्दा सन् २०१६को विजेताले प्रतियोगिता को दोस्रो हार बेहुर्नु परेको हो। बैंगलोरका लागि शाहबाज अहमदले २ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए भने हरशल पटेल र मोहम्मद सिराज ले २–२ विकेट बटुले। बैंगलोरको यो लगातार दोस्रो जीत हो।
यसै जीतका साथै बैंगलोर प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली डियरडेभिल्स बीच मुम्बईको वांखेडे मैदानमा प्रतिस्पर्धा हुँदैछ।