

ट्राफिक नियम उल्लंघन गरेका चालकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ

मिनिसोटा – अमेरिकाको मिनिसोटा राज्यमा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा महिला प्रहरी अधिकृत किम पोटरलाई पक्राउ गरिएको छ ।
उनीमाथि गैरन्यायिक हत्या विरुद्ध मुद्दा चलाइने भएको छ । पक्राउ परेकी पोटरले २० वर्षीय डन्टे राइटमाथि नियतवस गोली प्रहार गरी हत्या गर्ने आफ्नो मनसाय नभएको तर त्यो एक दुर्घटना भएको बयान दिएकी छिन् ।
उक्त हत्यापछि विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच तीन रात लामो झडप भएको थियो ।
मिनिसोटाको ब्रुक्लिन सेन्टरमा गत आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको थियो ।
ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोज्दा उनी भाग्न प्रयास गरेपछि नियन्त्रणमा लिने क्रममा गोली प्रहार भएको थियो । एजेन्सी