

नेपालमा पनि भेटियो ‘डबल म्युटेन्ट भेरिएन्ट’, यस्ता छन् प्रभाव

काठमाडौं – ललितपुरमा संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो ।
यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान सुरु गरेको छ । मन्त्रालयका अनुसार नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो ।
डबल म्युटेन्ट भेरिएन्ट भनेको के हो ?
डबल म्युटेन्ट भेरिएन्ट भनेको एकै भाइरस परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनु हो । भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ ।
आफू जीवित रहिरहन स्वरूप फेरेर बलियो बनाउँदै जान्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालसहित १३२ देशमा कोरोनाको यूके भेरिएन्ट (बी.१.१.७) देखिइसकेको छ ।
यो भेरिएन्टबाट संक्रमितमा जटिलता देखिने, अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको डब्लूएचओले जनाएको छ । नेपालमा एउटा नमुनामा डबल म्युटेन्ट भेरिएन्ट देखिनुले अन्यमा पनि यस्तो संक्रमण छ भनेर बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।