सशस्त्र डिएसपी गैरेको संगीतमा ‘जय भोले’ भजन सार्वजनिक



काठमाडौं । सशस्त्र प्रहरी नायब उपरिक्षक (सशस्त्र डिएसपी) सुरेश गैरेको संगीतमा नयाँ भजन जय भोले सार्वजनिक भएको छ ।

सांगीतिक क्षेत्रमा ‘गैरे सुरेश’का नामले परिचित गैरेको संगीत र डा. कृष्णहरि बरालको शब्द रहेको नयाँ भजन ‘जय भोले’ मा स्वर भने दर्शिल पन्तको रहेको छ ।

अथर्व गैरेको अभिनय रहेको यस भजन पशुपति क्षेत्रमा छायांकन गरिएको छ ।

गैरे सुरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भजनको भिडियोको निर्देशन अनिता रञ्जितकारले गरेकी छिन् ।

यसअघि अघिल्लो साल ‘भोले शंकर तिम्रै रुप भयंकर’ बोलको शिवभजन सार्वजनिक गरेका गैरेले दोस्रो भजन संग्रहका रुपमा ‘जय भोले’ ल्याएका हुन् ।

सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।

उनले संगीत गरेका गीत र गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।