जयदेव गौतमको निबन्धसंग्रह ‘ती निला आँखा’ लोकार्पण



काठमाडौं । निबन्धकार जयदेव गौतमको निबन्धसङ्ग्रह ‘ती निला आँखा’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको लोकार्पण गरिएको हो ।

कृति लोकार्पण कार्यक्रमलाई नेपाल स्रष्टा समाजले आयोजना गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक पवन आलोक, सल्लाहकार चन्द्रप्रसाद भट्टराई, साहित्यकार प्रमोद प्रधान, समीक्षकहरु डा. रजनी ढकाल, भिष्म उप्रेती, गौतमका पारिवारिक सदस्य राजेन्द्र थापा लगायतले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गरे ।

कृतिको समीक्षा गर्दै साहित्यकार प्रमोद प्रधानले निबन्धका भाव र शब्दहरुले पनि मन छुने बताए । निबन्धहरुको विस्तृत विवेचना गर्दै उनले देउरालीका सुस्केराहरु शीर्षकको निबन्ध समग्र नेपाली समाजको चित्र रहेको उल्लेख गरे ।

समीक्षक डा. रजनी ढकालले उपाख्यान गर्ने कला गौतमका निबन्धमा रहेको बताइन् । पाठकलाई दिन खोजेको वा भन्न खोजेको कुरा के हो ? त्यो थाहा हुनुपर्ने उल्लेख गर्दै उनले गौतमका निबन्धमा ती कुरा रहेको उल्लेख गरिन् । संग्रहभित्र निजात्मक, संस्मरणात्मक, यात्रात्मक लगायतका निबन्ध रहेको उनले बताइन् ।

अर्का समीक्षक भीष्म उप्रेतीले गौतमको संग्रहमा केही निबन्ध र केही प्रबन्ध रहेको उल्लेख गरे । निबन्धमा पत्रकारिताको भाषा माझिएको रुपमा देखिने पनि उनले बताए । निबन्धको शीर्षक र दुईवटा निबन्ध परिवर्तन गर्न सुझाव दिए पनि गौतमले स्वीकार नगरेको उनले सनाए । सम्बोधनका क्रममा उनले कृतिभित्रका निबन्धको विषयवस्तुसहित विश्लेषण गरे ।

नियात्राकार गौतमका पारिवारिक सदस्य राजेन्द्र थापाले विभिन्न समयमा लेखिएका विभिन्न क्षेत्रका निबन्धहरु संग्रहमा रहेको बताए । गौतमको लेख्ने हुटहुटी र लेखेको कुरा प्रकाशन गर्नुपर्छ भनेर शारीरिक असक्षमताका बाबजुद पनि कृतिको रुप दिन सफल भएको उनले बताए । उनले गौतमको व्यक्तिगत जीवनको बारेमा पनि स्रष्टाहरुलाई जानकारी दिए ।

कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष तथा सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले निबन्ध लेख्नेको संख्या कहिल्यै बढ्न नसकेको अवस्थामा गौतमको निबन्धसङ्ग्रह आएकोमा खुसी व्यक्त गरे । विदेशमा बसेर र अस्वस्थ अवस्थामा पनि यसरी साहित्यसेवामा निरन्तर लागिरहेकोमा उनले धन्यवाद ज्ञापन गरे । साहित्य र लेखनले जीवनलाई उर्जामय बनाउने बताउँदै उनले निबन्धकार गौतम उदाहरणीय व्यक्ति भएको उल्लेख गरे ।

पाल्पाको बगनासकाली–५, दर्लमडाँडामा जन्मिएका निबन्धकार गौतम हाल अमेरिकामा बस्दै आएका छन् । वि.सं. २०४० सालदेखि नियमित पत्रकारिता गर्दै आएका गौतम विभिन्न साप्ताहिक, दैनिक पत्रिकामा आबद्ध थिए । अहिले उनी विभिन्न अनलाइन पोर्टलहरुमा स्वतन्त्र लेखन गर्दै आएका छन् ।

समसामयिक, राजनीति, साहित्य, खेलकुद लगायतका विधामा कलम चलाउँदै आएका गैतमका ‘विश्वकप फुटबल ः कथा एक गाथा अनेक (२०५९), ‘लक्ष्मण–रेखाका दासहरु’ (२०६७), ‘आवाजहरु मौन छैनन्’, छोरीले जन्माएका आमाहरु’ लगायतका पुस्तकहरु प्रकाशित छन् ।