माडीको चितईखोला पुलमा भएको दुर्घटनामा एक शिक्षकको मृत्यु, २ जना घाइते



चितवन । माडीको बरुवास्थित चितईखोला पुलमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

माडीको बरुवास्थित सोमेश्वर माविका शिक्षकहरु चढेको मोटरसाइकललाई बलेरो जिपले ठक्कर दिँदा भएको दुर्घटनामा सिन्ता गाउँपालिका–३, आग्रीगाउँ, सुर्खेत निवासी शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याइएका खत्रीको उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

घाइते लेखापाल सुर्य अधिकारीलाई थप उपचारको लागि भरतपुर लगिएको छ । उनको प्रारम्भिक जानकारीअनुसार खुट्टा भाँचिएको छ भने अर्का घाइते शिक्षक भुवानी पौडेलको बघौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घटना केहीबेर अगाडि साँझ करीब ६ बजे चितई पुलमाथि लु.२ च. २५०८ नम्बरको बोलेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटेको हो ।