पूर्व सशस्त्र प्रहरी संघले गर्यो तिहारका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम (फोटोफिचर)



काठमाडौं । मुलुकको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलका अवकाश प्राप्त प्रहरी संघले दीपावली एवं छठ पर्वका अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकको सभाहलमा शुभदिपावली२०८०,नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले संगठन स्थापना कालदेखि यहाँसम्म आउनु पूर्व अग्रजहरुको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्दै संगठन विकास रविस्तारमा पूर्व सशस्त्र प्रहरी संघबाट आएका सल्लाह सुझावहरुलाई मनन गरी अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले नेतृत्व वर्गले संगठनमा एउटा रिति र थिति बसाई गरेका हरेक क्रियाकलापहरु प्रशंसा योग्य रहेको बताउँदै संगठन जति बलियो बन्दै गयो त्यति नै अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत शिर उच्च रहने बताएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरीको कनिष्ठदेखि उच्च तहबाट अवकाश प्राप्त गरेका अधिकारीहरुको उपस्थिति रहेको थियो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एवं नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष रविराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कार्य समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।