

सशस्त्रले पठायो भूकम्प प्रभावित क्षेत्रमा डिजास्टर रिलिफ सिस्टम कन्टेनर

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरुको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकहरुको राहतको लागि डिआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाईएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमको लागि पठाइएको हो । ती कन्टेनरमा उपलब्ध साधनश्रोतबाट सम्बन्धित क्षेत्रहरुमा अस्थायी बसोबासको लागि संरचना निर्माण भईसकेका छन् ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका–१ रावतगाउँमा अस्थायी संरचना निर्माण भईसकेका छन् भने रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भईसकेको छ ।
नेपालस्थित अमेरिकन राजदुतावासबाट सहयोग स्वरुप प्राप्त भएको ३३ वटा डिआरएस कन्टेनर मध्ये ३ वटा जाजरकोट र २ वटा रुकुम पश्चिममा पठाइएको हो । बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरुमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ । एउटा डिआरएस कन्टेनरमा एक सय जनाको लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन् ।
यसैगरी आइतबार नै नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।