

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य सेवा

जाजरकोट । गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरी बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालित छ ।
डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको छ भने डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्ड ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।