सशस्त्रमाथि तस्करको आक्रमणः भन्सार नतिरेको सामान नियन्त्रणमा लिँदा तस्करको आक्रमणबाट २ सशस्त्र घाइते



बाँके । बाँकेको नेपालगञ्जमा तस्करीको सामान नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ।

बागेश्वरी गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बिहीबार राति ९ः३० बजे चौलिका चोकबाट चोरीपैठारीका हार्डवेयरका सामान बरामद गरेको थियो। सामानको पूरा भन्सार नतिरेको पाइएपछि सामान नियन्त्रणमा लिएको सशस्त्रमाथि सय जना भन्दा बढी स्थानीयहरुले आक्रमण गरेका थिए ।

तनावको अवस्था सिर्जना भएपपछि बागेश्वरी गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट खटिएको सुरक्षा फौजले उनीहरूलाई सम्झाइ बुझाइ पठाएको थियो। तर पुनः रातको १०ः३० बजे केही व्यक्तिहरु आई ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ ।

तस्करीको सामान ल्याउनेहरूले एक्कासी ढुंगामुढा प्रहार गरेपछि सशस्त्र प्रहरी सहायक हवल्दार वेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सोही उपमहानगरपालिका १४ बस्ने स्थानीय १८ वर्षीय जहित हसमित पनि सामान्य घाइते भएका छन्।

आक्रमणबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुग्नुको साथै केही साधनहरूमा समेत क्षति पुगेको जानकारी डीएसपी थापाले दिएका छन्।

प्रहरीले बरामद गरेका भन्सार छलीका हार्डवेयरका सामान, चामल र चिनी स्थानीय भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।