सशस्त्र आईजी अर्यालद्वारा बढुवा भएका १२ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका बरिष्ठ अधिकृतहरुलाई प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान प्रदान गरेका छन् ।

गृहमन्त्रालयको भाद्र ११ गतेको निर्णय बमोजिम सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका हुन् । महानिरीक्षक अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नती भएको बताए ।

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठन स्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पुर्‍याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गरे ।

May be an image of 3 people and text

महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए ।

एसएसपी बढुवा हुनेमा  राजेश उप्रेती पहिलो नम्बरमा परेका छन् भने गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेज प्रसाद पोखरेल बढुवा भएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।