सशस्त्रले गर्यो अहिलेसम्मकै धेरै बढुवाको तयारी, सहायक हवल्दारदेखि एसएसपीसम्म बढुवा गरिने (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ । सशस्त्र प्रहरीले पछिल्ला केही वर्ष यताकै सबैभन्दा बढी बढुवाका लागि सूचना निकालेको हो ।

सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकैपटक सूचना प्रकाशन गरिएको छ ।

प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक एसएसपी तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।

त्यस्तै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का इन्स्पेक्टरको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र डिएसपीमा पदमा बढुवा हुनेछन् ।

२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली डिएसपीमा रहेकोमा सो टोलीसमेत सशस्त्र एसपीमा बढुवा हुनेछन् ।

विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने डिएसपी थापाले जानकारी दिए । ‘विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ’ डिएसपी थापाले भने ।

सशस्त्रले १९८ जना सशस्त्र बरिष्ठ प्रहरी हवल्दारहरूको सिफारिस गरिसकेको छ भने लेखा समूहको १ जना कानुन समूहमा ५ जना इन्स्पेक्टरको डिएसपी बढुवाका लागि पनि सिफारिस गरिसकेको छ ।

सूचनाहरू हेर्नका लागि फोटोमा क्लिक गर्नुहोस्