महानिरीक्षक अर्यालद्वारा गुल्मपति तथा स्टाफ तालिम समापन, इन्स्पेक्टर पाैडेल भए सर्वोत्कृष्ट



काठमाडाैं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन भएको सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम समापन भएको छ ।

प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार २६ गते तालिम समापन गर्नुका साथै सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेललाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उनले संगठनको व्यावसायिक छवी त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यदक्षताले निश्चित गर्ने तथा त्यो क्षमता तालिमले निर्धारण गर्ने बताउँदै प्रशिक्षणको दौरानमा सिकेका कुराहरुलाई कार्यक्षेत्रमा लगनशिल, अनुशासित र कर्तव्यनिष्ठ भई संगठनप्रति निष्ठावान भएर लाग्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम समापन गरी सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा खटिई जान लागेका अधिकृतहरुलाई कहिँ कतै पनि संगठनको अहित हुने काममा नलागि आफू मातहतका कर्मचारीहरुलाई समेत असल कामको लागि सदैव अभिप्रेरित गरी अगाडी बढ्न निर्देशन दिए ।

हामीले गरेका हरेक क्रियाकलापहरुको जनता र राज्यले मुल्यांङ्कन गर्ने भएको हुँदा जस्तोसुकै अवस्थामा समेत आफूले गरेको कामप्रति थप ईमान्दार र जवाफदेहि भई लाग्नुपर्ने बताउँदै महानिरीक्षक अर्यालले भने –‘समग्र संगठनको हित के मा छ भन्ने कुरा मनन् गरी आफू पनि त्यहि अनुरुप प्रस्तुत हुँदै मातहतका कर्मचारीहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, कार्यक्षेत्रमा असिमित चुनौतीहरु छन्, ती चुनौतीहरुलाई जुध्ने शक्ति र सामथ्र्य विकास गराउनको लागि नै यस्ता तालिमहरु संचालन भएका हुन्छन् ।’

उनले कार्यक्षेत्रमा खटिँदा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रहलाई थाँती राखी आफ्नो कमाण्डर र नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकासमा एउटै लक्ष्यकासाथ अघि बढ्नुपर्ने बताउँदै संगठनमा कार्यरत कर्मचारीहरुलाई करले होईन रहरले जनताको सेवामा जुट्ने अवस्था सिर्जना गरी हरेक जनताप्रति फरक ढंगले जिम्मेवारी बोध गराउनु पर्ने उल्लेख गरे ।

उनले प्रविधिसँगै बदलिदै गएका नविन चुनौतीहरुलाई परास्त गर्न प्राप्त श्रोतसाधनको अलवा Information र Mobility को तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राखि प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र बैज्ञानिक बनाउँदै लैजान प्रशिक्षण प्रतिष्ठान तथा तालिम संचालन गर्ने सम्पूर्ण युनिटहरुलाई सोही अवसरमा निर्देशन दिए ।

महानिरीक्षक अर्यालले राज्य र संगठनले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै संगठनलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने कार्यमा खटिई रहेका प्रशिक्षण प्रतिष्ठान तथा मातहत तालिम शिक्षालयहरु, विभिन्न विषय विज्ञ महानुभाव तथा प्रशिक्षक वर्गहरुलाई धन्यवाद दिनुका साथै आगामी दिनहरुमा समेत अझबढि सिर्जनशिल र सक्रियताका साथ लागि रहने विश्वास व्यक्त गरे ।

१२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो  ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।