सशस्त्र अतिरिक्त महानिरीक्षकहरु सीमाको छड्के निरीक्षणमा !



लुम्बिनी । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तिव्रता दिएका छन् ।सीमा नाकामा अनुगमनका क्रममा कहीँकतै कमिकमजोरी भेटिए टोली परिवर्तन गर्नेदेखि कमाण्डरहरुलाई कमाण्डबाट हटाउनेसम्मको जिम्मेवारी लिई उनीहरू सीमा नाका अनुगमनमा गएका हुन् ।

निरीक्षण तथा अनुगमनकै क्रममा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लुम्बिनि प्रदेश अन्तर्गत बाँके जिल्लास्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तु जिल्लास्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मीलगायतका सीमा नाका अनुगमन र निरीक्षणका क्रममा छन् ।

बर्दिया, रुपन्देही, नवलपरासीलगायतका सीमा नाका अनुगमनसमेत गरिने सशस्त्र प्रहरीले जनाएको छ ।बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उनले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत हुन र कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिए ।

यसअघि, कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले गत चैत तथा वैशाख महिनामा कोशी प्रदेश तथा सूदुरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका सीमा नाका अनुगमन गरेका थिए ।

यसैगरी सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले वैशाख अन्तिम हप्ता बागमती प्रदेश अन्तर्गत रसुवा, सिन्धुपाल्चोक तथा दोलखा जिल्लाको सीमा युनिटहरुको आकस्मिक निरीक्षण तथा अनुगमन गर्दै चोरीपैठारी नियन्त्रण र वन्यजन्तुका अंगहरुको हुनसक्ने तस्करी नियन्त्रणमा परिणाम देखिने गरी कार्यगर्न निर्देशन दिएका सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।