बुटवलका दम्पतीसहित दुर्घटनामा परी अस्ट्रेलियामा ३ नेपालीको मृत्यु



अस्ट्रेलिया । अस्ट्रेलियामा तीनजना नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको मेलबर्नमा कार दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको हो । सोमबार मेलबर्नको कउलफिल्ड क्षेत्रमा दुई कार ठोक्किँदा एक नेपाली दम्पतीको मृत्यु भएको थियो ।

भिक्टोरियाको कउलफिल्डस्थित एक चोकबाट देब्रे मोडिदै गरेको नेपाली चढेको कारलाई दाईने तर्फको मुख्य सडकबाट आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिएको थियो । दुर्घटनामा परेको कारमा सवार ३३ वर्षीय पुरुष र करिब २४ वर्षीय उनकी श्रीमतीले घटनास्थलमै ज्यान गुमाएका थिए । मृतक नेपाली दम्पत्ति नेपालस्थित बुटवलका हुन् ।

यस्तै मेलबर्नबाट ६० किलोमिटर टाढा कोल्याकमा बसोबास गर्दै आएका ३० वर्षीय प्रमोद आचार्यको पनि सडक दुर्घटनामा निधन भएको छ । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने प्रमोद चढेको कार बुधबार साँझ प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा प्रमोदको कार र ट्रक ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको अर्को ट्रकका चालक सकुशल रहेको भएपनि प्रमोदको भने घटनास्थलमै ज्यान गएको हो । चितवन घर भएका प्रमोद अस्ट्रेलियामा आफ्नी श्रीमतीका साथ बस्दै आएका थिए ।